kawita : Aama
kawi : Shishir Bhattarai
chhanda : Anustup
Wachan : Reeta pokhrel
कविता : आमा
कवि : शिशिर भट्टराई
छ्न्द : अनुष्टुप
वाचन : रीता पोख्रेल
'आमा' (अनुष्टुप)
बिहानै कुर्दछन् आमा घण्टी र धामले पनि,
नउठेसम्म आमाले उठ्दैन घामले पनि ।
आफू जलेर बातीझैँ आमा प्रकाश छर्दछिन्,
भोकै बसेर आमाले अरूकाे पेट भर्दछिन् ।
आमाकाे हातमा मात्रै लाग्छ त्यस्तो सुगन्ध छ,
भान्सामा पस्तछिन् आमा खाना अमृत बन्दछ ।
आफू लाएर फाटेको अर्काकै लाज ढाक्तछिन् ,
जस्तोसुकै समस्याका आमा पर्वत नाघ्दछिन्,
भएर दुष्ट नै के भो ? पार्दछिन् छिनमै वश,
आमा संस्कारकी मूर्ति उनै हुन् आँट/साहस ।
कर्म देखर आमाको भाग्दछ दु:ख त्यो पर,
खुल्दछ घरको ढोका, टल्किन्छ चन्द्रझैँ घर ।
पीडा सन्तानका निम्ति सहन्छिन् धरती बनी,
आमाको ममता नाप्ने यन्त्र छैन कतै पनि ।
आमाको साथमा जो छ उही हो लोकको धनी,
नहुँदा काख आमाको बाधा छ सृष्टिमा पनि।
नटेकी स्वर्गको माटो कस्ले वर्णन गर्दछ ?
आमाको कविता लेख्न आमा नै बन्नु पर्दछ ।